ईश्‍वरपुर नगरपालिकाको संक्षिप्त परिचय

प्रदेश नं २ को सर्लाही जिल्लामा अवस्थित माछा उत्पादन तथा अन्नको भण्डारको पहिचान बनाएको यस ईश्वरपुर नगरपालिका एउटा शान्त, प्रदुषणरहित, हरियालीयुक्त सुन्दर सहर हो । नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७१ बैशाख २५ को निर्णय अनुसार साविक ईश्वरपुर, बेला र भक्तिपुर गा. वि. स. मिलाई ईश्वरपुर नगरपालिका गठन भएकामा पूनः नेपाल सरकारले मिति २०७३।११।२७ देखि स्थानीय तह कार्यान्वयन गर्दा यस नगरपालिकामा साविक कालिन्जोर र गौरीशंकर गा. वि. स. क्षेत्र समेटेर कूल १५ वडा कायम भएकोछ । यस नगरपालिकाको क्षेत्रफल १६३.८३ वर्ग किलोमिटर रहेको छ । करिब १३,००० भन्दा वढी घरधुरी रहेको यस नगरपालिकाको जनसंख्या करिब ७०,००० रहेको छ । 

परापूर्व काल देखि नै यस ईश्वरपुरका बासिन्दाको मूल पेशा कृषि, पशुपालन तथा मत्स्यपालन रहेको पाईन्छ । मधेशी, मुस्लिम, चौधरी र पहाडी समुदायहरूका आ आफ्नै विशिष्ठ संस्कृति र सभ्यताको बाहुल्यता रहेको यस नगरी बहु जाति भाषा र धर्मका वीच सौहार्दता र सहकार्यको गौरबसाली नमूनाका रूपमा रही आएको छ । खाद्यान्न व्यापार तथा पशुहाटका लागि यस नगरपालिका प्रख्यात रही आएको छ ।